शीर्षकहरू

नेपाल-अमेरिका सहकार्य विस्तारमा जोड, अर्थमन्त्री वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री कुपरबीच भेटवार्ता

नेपाल-अमेरिका सहकार्य विस्तारमा जोड, अर्थमन्त्री वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री कुपरबीच भेटवार्ता

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एसपल कुपरबीच मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपालमा हालै सम्पन्न निर्वाचनपछि गठन भएको सरकार र अमेरिकी सरकारबीच सम्भावित सहकार्यका क्षेत्र, लगानी प्रवर्द्धन तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले सरकारको प्रमुख प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधार विकास रहेको उल्लेख गरे। उनले अनावश्यक तथा पुराना कानुन खारेज गर्दै नयाँ कानुनी संरचना निर्माणमार्फत लगानीमैत्री वातावरण बनाउने सरकारको योजना रहेको बताए।

उनले विशेषगरी अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूबाट पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानीको अपेक्षा गरिएको उल्लेख गरे।

अमेरिकी सहायक विदेशमन्त्री कुपरले नेपाल–अमेरिका सम्बन्ध ऐतिहासिक रूपमा सुदृढ रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे। उनले हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपछिको राजनीतिक स्थिरता र सरकारले अघि सारेका सुधारका कार्यक्रमलाई अमेरिकी प्रशासनले सकारात्मक रूपमा लिएको बताए।

कुपरले व्यापारिक सम्बन्ध विस्तार र अमेरिकी अन्तर्राष्ट्रिय वित्तीय विकास संस्थाहरूसँगको सहकार्यमार्फत दुवै देशले लाभ लिन सक्नेमा जोड दिए।

भेटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोमलगायत अमेरिकी दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया