शीर्षकहरू

अमेरिका-इरान तनाव चुलिँदै, वार्ता असफल भए व्यापक आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

अमेरिका-इरान तनाव चुलिँदै, वार्ता असफल भए व्यापक आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भए सैन्य कारबाहीको विकल्प खुला रहने चेतावनी दिएका छन्। सीएनबीसी सँगको अन्तर्वार्तामा उनले सम्झौता हुने आशा व्यक्त गरे पनि प्रगति नभए ‘व्यापक आक्रमण’ हुन सक्ने संकेत गरेका हुन्।

ट्रम्पले अमेरिका वार्ताका लागि बलियो स्थितिमा रहेको दाबी गर्दै हर्मुज जलडमरूमध्य माथि नियन्त्रणको अवस्था रहेको बताएका छन्। “हामी राम्रो सम्झौतामा पुग्न सक्छौं,” उनले भने, “तर आवश्यक परे अन्य विकल्प पनि प्रयोग गर्न तयार छौं।”

यता इरानले भने दबाबमा कुनै पनि वार्ता स्वीकार नगर्ने अडान दोहोर्‍याएको छ। इरानी संसदका सभामुख बघर गालिबाफ ले धम्कीको वातावरणमा वार्ता सम्भव नभएको बताएका छन्। उनले इरानले युद्धमैदानमा नयाँ रणनीति प्रयोग गर्ने तयारी गरिरहेको पनि उल्लेख गरेका छन्।

इस्लामाबादमा प्रस्तावित वार्तामा इरान सहभागी हुने विषय अझै स्पष्ट भइसकेको छैन। इरानको सरकारी सञ्चारमाध्यमले कुनै प्रतिनिधिमण्डल पाकिस्तान नपुगेको बताउँदै यससम्बन्धी समाचारलाई अफवाह भनेको छ।

यसैबीच पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकद्दमले दबाबमा सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन्। “महान् सभ्यता भएको राष्ट्र डर र दबाबमा झुक्दैन,” उनले बताएका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर सम्बद्ध फार्स समाचार एजेन्सीका अनुसार इरानी सैन्य नेतृत्वले अमेरिकालाई युद्धविराम माग्न बाध्य बनाइएको दाबी गरेको छ।

इरान र अमेरिकाबीच अप्रिल ८ मा दुई साताको युद्धविराम भएको थियो, जसको अवधि सकिन लाग्दा थप सहमति नजुटे तनाव झन् चर्किने सम्भावना देखिएको छ। बीबीसीका अनुसार इरानभित्र पनि कूटनीतिभन्दा टकरावतर्फ जाने दबाब बढ्दै गएको छ।

वार्ता अन्योलमा पर्दै जाँदा मध्यपूर्व क्षेत्रमा पुनः ठूलो सैन्य द्वन्द्वको जोखिम बढेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया