शीर्षकहरू

इन्धन अभावले बङ्गलादेश आक्रान्त: पम्पमा घण्टौँ लाइन, जनजीवन प्रभावित

इन्धन अभावले बङ्गलादेश आक्रान्त: पम्पमा घण्टौँ लाइन, जनजीवन प्रभावित

ढाका । इन्धन आपूर्तिमा आएको अवरोधका कारण बङ्गलादेशमा पेट्रोल पम्प र ग्यास डिपोहरूमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ। आयातमा अत्यधिक निर्भर मुलुकमा ढुवानी सीमित भएपछि इन्धन अभाव चर्किएको हो, जसको असर सार्वजनिक यातायातदेखि सर्वसाधारणको दैनिक जीवनमा देखिन थालेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वपछि विश्वव्यापी रूपमा इन्धन आपूर्ति प्रभावित हुँदा बङ्गलादेश पनि त्यसको प्रत्यक्ष असरमा परेको हो। मागअनुसार इन्धन उपलब्ध गराउन नसक्दा सेवाग्राहीहरू पेट्रोल, डिजेल र ग्यासका लागि घण्टौँसम्म पर्खिन बाध्य छन्।

ढाकाका ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि पम्पमा लाइन बसेका थिए। “छ घण्टापछि बल्ल इन्धन पाएँ,” उनले भने, “अब आराम गर्ने समय छैन, दिनभर काममा व्यस्त हुनुपर्छ।” उनीजस्ता सयौँ चालकहरू अझै पनि किलोमिटर लामो लाइनमा पालो कुर्दै बसेका छन्।

करिब १७ करोड जनसंख्या भएको बङ्गलादेशले आफ्नो तेल तथा ग्यासको झण्डै ९५ प्रतिशत आयात गर्छ, जसको अधिकांश हिस्सा मध्यपूर्वबाट आउँछ। युद्धका कारण प्रमुख आपूर्ति मार्ग प्रभावित भएपछि वैकल्पिक ढुवानी प्रयास भए पनि पर्याप्त आपूर्ति हुन सकेको छैन।

यद्यपि ऊर्जा मन्त्री इकबाल हसन महमुदले देशमा इन्धन अभाव नरहेको दाबी गरेका छन्। “आपूर्ति पर्याप्त छ, हल्लाका कारण मानिसहरूले भण्डारण गर्न खोज्दा समस्या देखिएको हो,” उनले संसदमा बताएका छन्। तर यथार्थमा भने पम्पहरूमा लामो लाइन र आपूर्ति अवरोधले संकटको संकेत दिइरहेको छ।

मोबाइल सेवा प्रदायकहरूको राष्ट्रिय सङ्घले समेत इन्धन अभावका कारण सेवा निरन्तरतामा समस्या आउन सक्ने चेतावनी दिएको छ। त्यस्तै, केही स्थानमा लाइनमा बसेकै अवस्थामा ज्यान गुमाउने घटना समेत सार्वजनिक भएका छन्। रङ्गपुरमा अत्यधिक गर्मीमा पर्खिरहेका एक सेवाग्राहीको मृत्यु भएको छ भने दक्षिणी नरेल जिल्लामा पम्पमा विवाद हुँदा दुई जनाको ज्यान गएको छ।

इन्धन संकटबीच केहीले व्यावसायिक अवसर पनि खोजेका छन्। लामो लाइनमा बसेकाहरूलाई खाना बेच्ने स्थानीय व्यापारीहरूको चहलपहल बढेको छ। यता, इन्धन अभावकै कारण विद्युतीय सवारी साधनप्रति आकर्षण पनि तीव्र रूपमा बढेको छ। सरकारी तथ्यांकअनुसार विद्युतीय मोटरसाइकल आयात एक महिनामै तीन गुणाले बढेको छ।

ढाका, विश्वकै अत्यधिक जनघनत्व भएको शहरमध्ये एक, जहाँ दैनिक लाखौँ मानिस आवतजावत गर्छन्, त्यहाँ इन्धन संकटले यातायात सेवा थप अस्तव्यस्त बनाएको छ। मोटरसाइकल चालक मिजानुर रहमान भन्छन्, “पहिले दिनको १५ सय टाका कमाउँथेँ, अहिले इन्धनकै लागि १०–१२ घण्टा लाइन बस्नुपर्छ। आम्दानी घटेको छ।”

इन्धन अभावका कारण लामो दूरीका यात्रु बोक्नसमेत चालकहरू हिच्किचाउन थालेका छन्। संकट चाँडै समाधान नहुने हो भने बङ्गलादेशको जनजीवन र अर्थतन्त्रमा अझ गहिरो प्रभाव पर्ने संकेत देखिएको छ।

प्रतिक्रिया