काठमाडौं। लगातार तेस्रो कारोबार दिन गिरावट देखिँदै बिहीबार सेयर बजार सूचक नेप्से पुनः २८०० विन्दुभन्दा तल झरेको छ। पछिल्ला १० कारोबार दिनपछि बजार फेरि सो स्तरभन्दा तल बन्द भएको हो।
नेप्से परिसूचक यस दिन १७.०१ अंक घटेर २७८७.१५ विन्दुमा पुगेको छ। यसअघि चैत २४ गते पनि नेप्से २८०० विन्दुभन्दा तल बन्द भएको थियो।
१३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे बनेका छन्। होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी १.४२ प्रतिशतले घटेको छ। त्यस्तै वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।
केही उत्पादन तथा व्यापार समूहमा भने सामान्य सुधार देखिएको छ, तर समग्र बजार दबाबमै रहेको विश्लेषकहरू बताउँछन्।
कारोबार रकममा उल्लेख्य गिरावट
बजारसँगै कारोबार रकममा पनि ठूलो गिरावट देखिएको छ। बुधबार ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार कित्ता सेयर ९३ हजारभन्दा बढी कारोबारमा किनबेच भएका छन्।
केही कम्पनीमा सर्किट, केहीमा तीव्र गिरावट
बजार ओरालो लागे पनि दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किटमा पुगेको छ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट को सेयर मूल्य यस दिन सर्किट लेभलमा पुगेको हो।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ। तर पछिल्ला दिनमा लगातार बढ्दै आएको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक को सेयर मूल्य यस दिन सबैभन्दा बढी ११.७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ, जसको करिब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनी को पनि उल्लेख्य कारोबार भएको छ। होटल फरेष्ट इन को कारोबार पनि २२ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया