काठमाडौँ। सेयर बजारको उतारचढावले सरकारको राजस्व संकलनमा प्रत्यक्ष असर पारेको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पुँजीगत लाभकर संकलन अघिल्लो वर्षको तुलनामा ३६.४३ प्रतिशतले घटेर ८ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ।
केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी लाभकर संकलन भएको थियो। बजारमा देखिएको सुस्तता, घट्दो कारोबार र लगानीकर्ताको सतर्कताले समग्र कर संकलनमा गिरावट ल्याएको विश्लेषण गरिएको छ।
वर्षको सुरुआतमा बजार उच्च विन्दुमा पुगेकाले साउनमै २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ कर संकलन भएको थियो। तर त्यसपछि बजार निरन्तर ओरालो लागेसँगै कर संकलनमा गिरावट आएको हो। यस अवधिमा सेयर बजारमा देखिएको उतारचढावले कर संकलनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।
महिनागत तथ्यांकले पनि यही प्रवृत्ति देखाउँछ। साउनमा उच्च कर संकलन भए पनि त्यसपछि अधिकांश महिनामा गिरावट आएको थियो। भदौदेखि माघसम्म कर संकलन निरन्तर घटबढको अवस्थामा रह्यो भने फागुनमा पनि कमजोर देखियो।
भदौमा ६० करोड १४ लाख, असोजमा २४ करोड ३९ लाख, कात्तिकमा ३८ करोड ५ लाख र मंसिरमा ६२ करोड ९८ लाख रुपैयाँ कर संकलन भएको छ। पुसमा ५८ करोड ४३ लाख रुपैयाँ संकलन हुँदै कर केही स्थिर देखिए पनि त्यसपछि पुनः उतारचढाव देखिएको छ।
माघमा १ अर्ब २९ करोड रुपैयाँ कर उठ्दा केही सुधार देखिएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २२ प्रतिशतले बढी हो। तर फागुनमा पुनः घटेर ५५ करोड १५ लाख रुपैयाँमा सीमित भएको थियो।
चैत महिनामा भने सेयर बजारमा आएको सुधारसँगै कर संकलन ह्वात्तै बढेको छ। उक्त महिनामा मात्रै १ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ, जुन गत आर्थिक वर्षको सोही महिनाको तुलनामा १५०.२८ प्रतिशतले बढी हो।
चैत महिनाको कर संरचना हेर्दा व्यक्तिगत अल्पकालीन लगानीकर्ताको हिस्सा उच्च देखिएको छ। सो महिनामा व्यक्तिगत दीर्घकालीनतर्फ ३५ करोड ८२ लाख रुपैयाँ, अल्पकालीनतर्फ १ अर्ब १० करोड ५१ लाख रुपैयाँ र कर्पोरेटतर्फ २७ करोड २४ लाख रुपैयाँ कर संकलन भएको छ। यसले बजारमा छोटो अवधिमा किनबेच गर्ने प्रवृत्ति बढी सक्रिय रहेको संकेत गर्छ।
हालको व्यवस्थाअनुसार व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी अवधिपछि सेयर बिक्री गर्दा ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। संस्थागत लगानीकर्ताका लागि भने १० प्रतिशत कर दर लागू गरिएको छ।
यस वर्ष साउन मध्यतिर सेयर बजार सूचक उच्च विन्दुमा पुगेपछि क्रमशः ओरालो लाग्दै गएको थियो। बजार घट्दा लगानीकर्ताको नाफा सीमित हुँदा कर संकलनमा पनि गिरावट आएको देखिन्छ। नाफा बुक गर्ने अवसर कम हुनु, लगानीकर्ताको सतर्कता बढ्नु र समग्र बजारमा देखिएको सुस्ती यसको प्रमुख कारण मानिएको छ।
तर, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि बजारमा सुधार देखिँदै कारोबार बढ्न थालेपछि चैतमा कर संकलन उल्लेख्य रूपमा बढेको हो। पुँजीगत लाभकर संकलन सेयर बजारको प्रवृत्तिसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। यस वर्षको अनुभवले बजारको बुलिस र बियरिस अवस्थाले सरकारी राजस्वमा कति छिटो प्रभाव पार्न सक्छ भन्ने देखाएको छ।
Capital Gains Tax Collected from Stock Market Transactions in the First Nine Months of Two Fiscal Years (in Lakhs)
आर्थिकन्यूज
प्रतिक्रिया