हेटौँडा। लामो समयदेखि आर्थिक सङ्कट झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थको अभावका कारण पूर्ण रूपमा बन्द भएको छ। गत महिना सीमित रूपमा क्लिङ्कर उत्पादन गरे पनि आवश्यक कच्चा पदार्थ नआएपछि उत्पादन रोकिएको हो।
उद्योगका अनुसार कोइला र ढुङ्गालगायत प्रमुख कच्चा पदार्थ अभाव छ। आपूर्तिका लागि सम्झौता भए पनि ठेकेदारले रकम अभाव देखाउँदै ढुवानी गर्न नसकेपछि उत्पादन प्रक्रिया रोकिएको हो।
उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार हाल उपलब्ध कच्चा पदार्थबाट करिब पाँच हजार टन क्लिङ्कर उत्पादन गरिएको थियो, जसबाट केही सिमेन्ट प्याकेजिङको काम मात्रै भइरहेको छ। “कच्चा पदार्थ आउने तत्काल सम्भावना छैन, त्यसैले उत्पादन रोक्नुपरेको हो,” उनले बताए।
दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको उद्योग पछिल्ला वर्षदेखि निरन्तर बन्द र आंशिक सञ्चालनको अवस्थामा रहँदै आएको छ। मेसिनरीमा देखिएको समस्या पनि मर्मत भइरहेको जनाइएको छ।
आर्थिक अभावका कारण उद्योगका कर्मचारीले १० महिनादेखि तलब नपाएको बताइएको छ। उद्योगमा १६६ स्थायी, १०० दैनिक ज्यालादारी र ५२ सुरक्षाकर्मी कार्यरत छन्।
उत्पादन बन्द भएपछि सरकारी उद्योगको दीर्घकालीन सञ्चालन र व्यवस्थापनबारे पुनः प्रश्न उठेको छ। विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया