काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद टिप्पणीपछि भारत–अमेरिका सम्बन्धमा नयाँ कूटनीतिक तनाव उत्पन्न भएको छ। भारतले उक्त अभिव्यक्तिलाई कडा शब्दमा अस्वीकार गर्दै वास्तविकतासँग असम्बन्धित र अनुपयुक्त भएको जनाएको छ।
बुधबार राति ट्रम्पले गरेको पोस्टमा अमेरिकामा जन्मिएकाहरूलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थामाथि आलोचना गरिएको थियो। सोही क्रममा उनले भारतीय आप्रवासीलाई लक्षित गर्दै उनीहरूले अमेरिकी रोजगारी खोस्ने र अङ्ग्रेजी भाषामा कमजोर रहेको आरोप लगाएका थिए। साथै, भारतलाई ‘नरक’ भन्दै गरिएको टिप्पणीले विवादलाई अझ चर्काएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त टिप्पणीलाई “अनुपयुक्त, गलत र खराब स्वादमा गरिएको” भन्दै कडा प्रतिक्रिया दिएको छ। उनले भारत–अमेरिका सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित दीर्घकालीन सम्बन्ध भएको स्पष्ट पारे ।
यसैबीच, अमेरिकी कांग्रेसमा रहेका भारतीय मूलका सांसद अमी बेराले पनि ट्रम्पको टिप्पणीको आलोचना गर्दै यसलाई आपत्तिजनक र अज्ञानतापूर्ण भएको बताए। उनले आप्रवासी समुदायले भोग्ने संघर्षबारे बुझाइ नदेखिएको टिप्पणी गरे ।
हिन्दू अमेरिकन फाउन्डेसनले पनि उक्त अभिव्यक्तिलाई आपत्तिजनक भन्दै यसले जातीय विभाजन र घृणा बढाउने चेतावनी दिएको छ।
ट्रम्पले आप्रवासन नीतिमा कडाइ गर्ने आफ्नो एजेन्डाअन्तर्गत भारतीय प्राविधिक कामदार प्रयोग हुने भिसा प्रणालीप्रति निरन्तर आलोचना गर्दै आएका छन्, जसले पहिले नै दुई देशबीचको सम्बन्धमा चिसोपना ल्याएको विश्लेषण गरिएको छ।
यसअघि भारत–पाकिस्तान तनावका क्रममा मध्यस्थताको प्रयासलाई पर्याप्त मान्यता नदिएको भन्दै ट्रम्पले भारतप्रति असन्तुष्टि व्यक्त गर्दै व्यापारिक क्षेत्रमा समेत उच्च शुल्क लगाएका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला आएको यो विवादले दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधार प्रयासलाई थप जटिल बनाएको कूटनीतिक विश्लेषकहरूले बताएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया