शीर्षकहरू

इन्साइडर ट्रेडिङ र लगानी ठगीमा मुछिएका दुई ठूला नाम, यस्तो छ उनीहरुको कर्तुत

इन्साइडर ट्रेडिङ र लगानी ठगीमा मुछिएका दुई ठूला नाम, यस्तो छ उनीहरुको कर्तुत

काठमाडौं । पछिल्लो समयमा नेपालमा आर्थिक ठगिका घटनाहरु बढ्दै गएका छन्। विशेषगरी वित्तीय ठगहरु प्रविधिमूलक आपराधिक क्रियाकलापतर्फ बढी केन्द्रित हुन थालेका छन् । बैंकिङ कसुर, लघुवित्त तथा सहकारी ठगी, अनुचित लेनदेन र मिटरब्याजजस्ता वित्तीय अपराधहरु बढ्दै गएका छन्। पछिल्लो समयमा शेयर कारोबारसँग सम्बन्धित वित्तीय अपराधहरु पनि त्यत्तिकै मात्रामा बढ्न थालेका छन्।

अनलाइन ठगी, क्रिप्टोकरेन्सी कारोबार, प्रि-आईपीओ, अनलाइन जुवा, हनी ट्रयाप जस्ता घटनाको उजुरी गर्नेहरु समेत बढ्दै गएको प्रहरीको तथ्यांक छ । नेपालको जलविद्युत, सहकारी, र शेयर बजार लगायतका क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड मानिने गरिन्छ । पछिल्लो समय यी क्षेत्रमा संलग्न केही ठूला नामहरुकै कारण आम लगानीकर्ता ठगिन पुगेका छन्।

यस सन्दर्भमा गुरु प्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधान जस्ता चर्चित व्यवसायीहरुविरुद्ध ठगी, इन्साइडर ट्रेडिङ, र सम्पत्ति शुद्धीकरणका मुद्दा उठेका छन्। यसले भित्री कारोबार मार्फत शेयर बजारमा गरिने वित्तीय अपराधको उजागर गरेको छ । तर, यस्ता गम्भिर अपराधमा संलग्न व्यक्तिहरुलाई दोषी करार गरिए पनि त्यस अनुरुपको कारबाही नहुनु शेयर बजारका आमलगानीकर्ताहरुमाथि अन्याय हो। 

न्यौपाने र प्रधानले शेयर बजारमा यसरी गर्थे चलखेल 

गुरु प्रसाद न्यौपाने आफूसँग सम्बन्धित कम्पनीहरुको शेयर मूल्य कृत्रिम रुपमा उचाल्ने, इन्साइडर ट्रेडिङ गर्दै आएका थिए। उनले आफु संलग्न रहेका कम्पनीहरुमा आफ्ना नजिकका व्यक्ति सञ्चालक नियुक्त गर्ने, उनीहरु मार्फत कम्पनीको लेखा प्रणाली र खरीदमा हस्तक्षेप गरी बोर्ड निर्णय कब्जा गर्ने गरेका थिए ।  हाल उनी अपि इन्फ्रास्टक्चर लिमिटेड प्रवर्धक सौर्य कृषि ऊर्जा लिमिटेड, अध्यक्ष सिद्धिचरण एग्रो टेक, सञ्चालक मेसो इनर्जी लगानीकर्ता रहेका छन । 

न्यौपानेले आफूसँग सम्बन्धित कम्पनीहरुको शेयर मूल्य कृत्रिम रुपमा उचाल्ने, इन्साइडर ट्रेडिङ गर्ने कार्य गरेको पुष्टि विशेष अदालतले समेत गरिसकेको छ । 

उनी सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन । विशेष अदालतले उनलाई २०८० चैतमा शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको थियो । न्यौपानेलाई शेयरको भित्री कारोबारमा दोषी ठहर गरी १ वर्ष कैदका साथै ३ करोड ९८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । 

अदालतले बिगो रकम १ करोड ९९ लाख १० हजार २५२ रुपैयाँको दोब्बर ३ करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ जरिवाना गराउन तथा बिगो बराबरको सम्पत्ति जफत गर्न आदेश दिएको थियो । अदालतले न्यौपानेलाई २ वर्ष कैद सजायको आदेश दिए पनि निज ७३ वर्ष उमेरको भएकाले ५० प्रतिशत छूट गरिदिएको छ ।

न्यौपानेले सार्वजनिक नभएको धितोपत्रको मूल्यमा असर पर्न सक्ने महत्वपूर्ण जानकारी हुँदाहुँदै आफ्नो नाममा कायम रहेको ३४ हजार कित्ता शेयर बिक्री गरेका थिए । ’आफैं अध्यक्ष भएको कम्पनीको भित्री सूचनामा पहुँच हुने तथा नेपाल धितोपत्र बोर्डले जारी गरेको सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को दफा १४ (६) मा कुनै कुनै व्यक्ति सञ्चालकको पदमा रहुन्जेल तथा सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनैपनि शेयर, डिबेन्चर खरिद बिक्री गर्न पाउने छैन भनी उल्लेख छ’ ।

नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको भन्दै न्यौपानेलाई २०७९ पुसमा कारबाही गरेको थियो। बोर्डले १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने गरी कारबाही गर्नुका साथै ७५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । उनले करिब ८० करोडभन्दा बढी बैंक कर्जा तिर्न बाँकी रहेको छ । केही संस्थामा किस्ता तिर्न ढिलाइ भएको छ । तर अझै पनि केही बैंकले उनलाई अप्रत्यासीत रुपमा समर्थन गर्दे आएका छन् ।

नेपाल धितोपत्र बोर्डले २०७९ चैत्र १९ गते तत्कालिन हाइड्रो डेभलपर लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानमाथि पनि कारबाही गरेको थियो । कारबाहीको व्यहोरामा प्रष्टसँगै नेपाल हाइड्रो डेभलपर लिमिटेडको अध्यक्ष हुदाँ प्रधानले छोरा चेतन प्रधान र छोरी निभिता प्रधानका नाममा कानून विपरित शेयर हस्तान्तरण गरी उक्त शेयरको कारोवार धितोपत्र बजारमा गरेको देखिएकाले धितोपत्र ऐन, २०६३ को दफा १०१ को उपदफा ७ बमोजिम ७५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। 

प्रधान २०७१ साउन देखि २०७८ भदौसम्म नेपाल हाइड्रो डेभलपर लिमिटेडका अध्यक्ष थिए । अध्यक्ष भएकै बेला र अध्यक्षबाट राजीनामा दिएलगत्तै उनले श्रीमती बिमला प्रधान, छोरा चेतन प्रधान तथा छोरी निभिता प्रधानका नाममा कुल ५ लाख ४ हजार ५ सय ६२ कित्ता शेयर हस्तान्तरण गरेका थिए । उनीहरुका नाममा शेयर गएलगत्तै उच्च मूल्यमा शेयर बेचेका थिए ।

धितोपत्र ऐन अनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको सञ्चालक वा व्यवस्थापनमा रहेका बेला वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको शेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ । ऐनको यो व्यवस्थाका कारण प्रधान स्वयंले शेयर बेच्न नपाउने भएपछि श्रीमती, छोरा र छोरीको नाममा हस्तान्तरण गरी उनीहरुमार्फत बिक्री गरेका थिए । यस्तो कामलाई इन्साइडर ट्रेडिङ मानिएको छ । प्रधानले गरेको शेयर कारोबार पनि गैरकानूनी भएको निकर्षमा पुग्दै धितोपत्र बोर्डले कानूनमा टेकेर उनीहरुलाई कारबाही गरेको हो । 

प्रधानकी श्रीमती बिमलाले उक्त शेयर बिक्री गरी १८ करोड ५० लाख, छोरा चेतनले सेयर बिक्रीबापत आर्जन गरेको ४ करोड ८ लाख तथा छोरी निभिताले आर्जन गरेको ३ करोड ८० लाखसहित कुल २६ करोड ३९ लाख ७९ हजार रुपैयाँ ज्ञानेन्द्रलालले नै प्राप्त गरेको धितोपत्र बोर्डले गरेको अनुसन्धानबाट देखिएको थियो।

शेययरबजारमा भित्री कारोवार गरेको आरोपमा जलविद्युत क्षेत्रमा लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानविरुद्ध गत मंसिरमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले प्रधानमाथि करिव २६ करोड रुपैंया गैरकानूनी रुपमा कमाएको आरोप लगाएको छ । साथै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३० को उपदफा (१) बमोजिम बिगोेको दोब्बर जरिबाना र कसुरको मात्रा अनुसार कैद सजायको माग पनि विभागले गरेको छ । 

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर कारोबारका क्रममा भित्री सूचना पाएर त्यसको दुरुपयोग गरी शेयर कारोवारबाट लाभ लिएको आरोपमा प्रधानविरुद्ध मुद्दा दायर भएको हो। प्रधानकै जस्तो कारोबार गरेका न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भइसकेका छन् । 

यति हुँदाहुँदै पनि उनीहरु अझैपनि कुनै न कुनै रुपमा शेयर बजारमा सक्रिय रहेका छन् । पछिल्लो समयमा उनीहरुले आफु आवद्ध कम्पनीहरुको माध्यमबाट शेयर बजारमा अनेक चलखेलहरु गर्दै आएका छन् .......  

प्रतिक्रिया