वीरगञ्ज। स्काइलाइन इन्फ्रा लिमिटेडको विशेष साधारण सभा वीरगञ्जमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष प्रतिक अग्रवालको अध्यक्षतामा वैशाख ११ गते होटल सरोबरमा सम्पन्न भएको हो।
सभाले कम्पनीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको छ। साथै, शेयर निष्काशनसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, संस्थापक समूहको बाँकी शेयर प्रिमियममा बिक्री गर्ने अधिकारसमेत समितिलाई दिइएको छ।
कम्पनीको आदर्शनगर, वीरगञ्जस्थित बहुआयामिक नौ तले भवनमा विभिन्न व्यवसायिक संरचना सञ्चालनमा छन्। भुईँ तलामा ब्रान्डेड रिटेल पसल, पहिलो तलामा क्यासिनो र दोस्रो तलामा क्यूएफएक्स सिनेमा हल भाडामा सञ्चालनमा रहेका छन्।
तेस्रो तलादेखि माथिका सबै तलामा सरोवर समूहको व्यवस्थापनमा चारतारे होटल सञ्चालनमा रहेको छ। ६० कोठा क्षमताको होटलमा रेष्टुरेन्ट, बैंक्वेट हल, सभा–सम्मेलन हल तथा छुट्टै रुफटप रेष्टुरेन्ट सुविधा रहेको छ।
कम्पनी २०८१ सालदेखि सञ्चालनमा आएको हो र आ.व. २०८१/८२ मा मुनाफामा पुगेको जनाएको छ। कम्पनीको नेटवर्थ पनि सकारात्मक रहेको बताइएको छ।
कम्पनीको कुल जारी पूँजी १७५ करोड रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर आगामी आ.व. २०८२/८३ मा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया