शीर्षकहरू

अरुण काबेलीलाई ५०% हकप्रद निष्कासन अनुमति, ऋण तिर्न र आयोजनामा लगानी सर्त

अरुण काबेलीलाई ५०% हकप्रद निष्कासन अनुमति, ऋण तिर्न र आयोजनामा लगानी सर्त

काठमाडौँ। अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। आयोगले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

कम्पनीको हालको चुक्तापुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ रहेकामा सोको आधा बराबर १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अब अघि बढ्नेछ।

आयोगले स्वीकृतिसँगै रकम उपयोगसम्बन्धी सर्तहरू पनि तोकेको छ। त्यसअनुसार हकप्रदबाट उठाइने रकममध्ये १ अर्ब रुपैयाँ काबेली बी–१ जलविद्युत आयोजनाको निर्माणका क्रममा लिइएको ऋण भुक्तानीमा प्रयोग गर्नुपर्नेछ। बाँकी ९४ करोड ७९ लाख रुपैयाँ भने ३७.६ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी काबेली इनर्जीमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

उक्त दुवै शीर्षकमा खर्च भएको पुष्टि हुने कागजात १५ दिनभित्र आयोगमा पेश गर्नुपर्ने सर्तसमेत राखिएको छ। साथै, प्रचलित कानुनअनुसार आवश्यक पर्ने अन्य निकायबाट अनुमति लिनुपर्ने भएमा सो प्रक्रिया पूरा गरी आयोगलाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया