शीर्षकहरू

सीडीएससीमा कञ्चन सापकोटा कामु प्रमुख, प्रवीण पन्दाक पदमुक्त

सीडीएससीमा कञ्चन सापकोटा कामु प्रमुख, प्रवीण पन्दाक पदमुक्त

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा कञ्चन सापकोटालाई कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

आइतबार बसेको सीडीएससी सञ्चालक समितिको बैठकले प्रशासन तथा मानव संशाधन विभाग प्रमुख सापकोटालाई सेवा शर्त विनियमावली २०७५ अनुसार कामु प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

यससँगै प्रवीण पन्दाक सीडीएससीको जिम्मेवारीबाट मुक्त भएकी छन्। यसअघि नेप्से सञ्चालक समितिले पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो, जसलाई सीडीएससी बोर्डले औपचारिक रूपमा कार्यान्वयन गरेको हो। अब पन्दाक नेप्सेमै आफ्नो पुरानो जिम्मेवारीमा फर्किनेछिन्।

पन्दाकलाई तत्कालीन नेप्से प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्यकाल सकिन लाग्दा २०८१ पुस १४ गते चार वर्षका लागि सीडीएससीको प्रबन्ध सञ्चालकमा नियुक्त गरेका थिए। खुला प्रतिस्पर्धाविना गरिएको उक्त नियुक्तिलाई नीतिगत रूपमा विवादास्पद मानिँदै आएको थियो।

वर्तमान नेतृत्वले सो नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै नियमअनुसार नभएको ठहर गरेपछि पन्दाकलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।

अब सीडीएससीमा स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अघि बढ्ने बताइएको छ। तबसम्म सापकोटाले संस्थाको दैनिक प्रशासनिक तथा कार्यकारी नेतृत्व सम्हाल्नेछिन्।

प्रतिक्रिया